ओलम्पिक कमिटीको साधारण सभा सम्पन्न

नेपाल ओलम्पिक कमिटीको १३ औ साधारण सभा शुक्रवार सातदोबाटो स्थित कार्यालयमा सम्पन्न भएको छ । त्यस अवसरमा कमिटीका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ कमिटीको भावी नीति र कार्यक्रमबारे प्रकाश पारे । श्रेष्ठले नेपाली विकासका लागि सबे पक्ष मिलेर सहकार्य गरेर अगाडि बढ्नु बाहेक अर्को विकल्प नभएको बताए ।
बन्द सत्रमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सन् २०२२ को प्रगति विवरण पेस गर्दै भावी कार्यक्रमबारे प्रकाश पारे । यस्तै कोषाध्यक्ष रतनकुमार टण्डनले सन् २०२३ को अनुमानित बजेट पेस गर्दै आर्थिक वर्ष ०७८÷०७९ को आर्थिक विवरण पेस गरे । कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२३ मा हुने अन्ताराष्ट्रिय प्रतियोगिताबारे जानकारी दिँदै त्यसका कार्यक्रमबारे विस्तृतमा बताए ।
सन् २०२३ मा हुने प्रमुख अन्ताराष्ट्रिय प्रतियोगितामा १९ औँ एसियाली खेलकुद, छैटौँ एसियाली इनडोर मार्सल आर्ट्स, दोस्रो एनोक वर्ल्ड बिच गेम्स र १४ औँ दक्षिण एसियाली खेलकुद रहेका छन् । त्यसमध्ये एसियाली खेलकुद चीनको हानचाउमा २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यस्तै एसियाली इनडोर मार्सल आर्ट्स थाइल्यान्डको बैंकक र छोनबुरीमा १७ देखि २६ नोभेम्बरसम्म हुनेछ । एनोक वर्ल्ड बिच गेम्स ५ देखि १२ अगस्टसम्म हुनेछ ।
दक्षिण एसियाली खेलकुदबारे अन्तिम निर्णय हुन भने बाँकी छ । कमिटीका केन्द्रीय सदस्य गोपाल सुन्दर लाल कक्षपतिले एनओसी अवार्ड र यसको भविष्यको कार्यक्रमबारे प्रकाश पारे । यस्तै कमिटीअन्तर्गत स्पोर्टस अफ अलका विष्णु गोपाल  श्रेष्ठ, ओमन एन्ड स्पोर्ट्सकी विमला पौडेल, स्पोर्टस एन्ड इनभारमेन्टकी डोल्मा लामा शाह र मेडिकल कमिसनका सरोजकृष्ण श्रेष्ठले सन् २०२२ मा भएको कार्यक्रमबारे बताउनु भयो ।
त्यस अगाडि उद्घाटन सत्रमा कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान र सल्लाहकार शरदसिंह भण्डारीलाई प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।
Comment