रग्बीमा सेमिफाइनल समीकरण पूरा


यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिवार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अङ्कसहित विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएई ९ अङ्कसाथ विजेता तथा दक्षिण कोरिया ७ अङ्कसाथ उपविजेता हैसियतले सेमिफाइनलमा पुगे । सेमिफाइनलमा भारतको भेट युएईसँग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ ।
समूह ‘ए’ मा रहेको नेपालले भारतसँगै समान ५ अङ्क जोडे पनि स्कोर अन्तरका आधारमा पछि परेको हो । । नेपालले भारतलाई १२–१० पराजित गरेको थियो । नेपाल थाइल्यान्डसँग १५–७ तथा मलेसियासँग ३४–० ले पछि परेको हो । । पुरुषमा ८ टिम सहभागी छन् ।
नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बङ्गलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्ने छन् । प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बङ्गलादेश विरुद्ध खेल्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अङ्क जोडेका छन् । ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छ ।
समान २–२ खेल खेलेका युएई, नेपाल र मलेसियाको क्रमशः ६ अङ्क, २ अङ्क र २ अङ्क रहेको छ । नेपाल थाइल्यान्डसँग ३९–० र युएईसँग ४१–० ले पराजित भयो ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले  उद्घाटन गरे । सो अवसरमा दाहालले अन्तर्राष्ट्रिय प्रतियोगिताले राष्ट्र बिचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान गर्ने बताउँदै राष्ट्रको अर्थतन्त्र वृद्धिमा पनि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले नेपालमा रग्बीको विकास र विस्तारका लागि सरकारले पूर्वाधार निर्माण तथा अन्य तयारी सुरु गरेको जानकारी गराए ।
एसिया रग्बीका अध्यक्ष कायस अल धलाइले छोटो समयको प्रस्तावमा पनि नेपालले प्रतियोगिता आयोजना गर्न तत्परता देखाएकोमा नेपाल रग्बी सङ्घलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टङ्कलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो ।

Comment