यु–१८ अन्तर्राष्ट्रिय रग्बी शनिवारदेखि

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा रग्बी सङ्घका महासचिव चेतनराज गिरीले जानकारी गराए । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएई, बङ्गलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टङ्कलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र वृद्धिमा पनि महत्त्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गरे ।
रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए । उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहोर्ने छ ।
नेपाली टोलीको सम्पूर्ण खेल पोसाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समीर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोसाक हस्तान्तरण गरे ।
सोही अवसरमा नेपाली टोलीका खेलाडीहरूको नाम पनि सार्वजनिक गरिएको थियो । पुरुषमा रोहण डङ्गोल  , मनीष हिङमांग , विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीन बहादुर मगर, विरास रेग्मी, सन्दीपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु रहेका छन् । महिलामा मनीषा घिसिङ , सुजा राई , विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन् ।
दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
Comment