राष्ट्रिय च्याम्पियन प्रिन्स र रसिलालाई उपाधि

राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रसिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जित्न सफल भएका छन् ।
नेपाल ब्याडमिन्टन संघले बरीयताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रसिलाले सेनाकै अनु माया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधि जितेका हुन् । विजयी भएबापत प्रिन्स र रसिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उप विजयी महर्जन र राई प्रत्येकले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानमा पुरुष तर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितिज खनाल तथा महिला तर्फ सेनाकी प्रार्थना देउवा र शोभा गौचन संयुक्त तेस्रो भए । तेस्रो भएबापत उनीहरूले नगद १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० बरिएता बाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दीपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । तेस्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एसिया जवेगु र दिवस शङ्करको जोडी रहे ।
पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरूले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ छात्र एकल तर्फ सेनाका कबिर के.सी. र छात्रा तर्फ सेनाकै रिहाना शेरचनले उपाधि जिते । कबिरले सेनाकै अनिल मल्ललाई २१–१०, २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले पराजित गर्दै उपाधि जितेका हुन् । तेस्रो स्थानमा छात्र तर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रा तर्फ सेनाकी संवृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेस्रो भए ।
शीर्ष तीन स्थानमा रहेका खेलाडीहरूले क्रमशः २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
भेट्रान्स ४५ वर्ष माथिको प्रतियोगितामा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधि आफ्नो नाममा लेखाए । तेस्रो स्थानमा कालिका ब्याडमिन्टन क्लबका राम के.सी. र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी रहे ।
शीर्ष तीन स्थानमा रहेका जोडीहरूले क्रमशः २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई ललितपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment