लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ ।
भारतको लखनउमा विश्व कुङफु दिवसका अवसरमा आयोजित कार्यक्रम लामालाई नगद १ लाख ६० हजार रुपैयाँसहित कदर पत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङफु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनीय योगदान गरे बापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।
लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मञ्जु त्रिपाठीलगायतले  सम्मान गरे ।
अध्यक्ष लामाले अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै सम्मानले कुङफु खेलको विकास र विस्तारमा क्रियाशील रहन अझ हौसला र प्रेरणा मिलेको बताए ।
नेपाल उमा कुङफु सङ्घका प्रथम उपाध्यक्ष सन्जीत कुमार राईले आफ्ना अध्यक्षलाई सम्मान गरेकोमा सिङ्गो उमा कुङफु परिवारले गौरवान्वित महसुस गरेको बताए ।
नेपाल उमा कुङफु सङ्घका संस्थापक समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षा सम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।
Comment