वैद्यलाई मगर सङ्घको सम्मान


नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर सङ्घ, शाखा युएई द्वारा भव्य कार्यक्रमका साथ सम्मान गरेको छ ।

वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर सङ्घ, शाखा युएई द्वारा आयोजित बलिहाङ पर्वको शुभ अवसरमा देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नेपाली खेलकुद जगतकी सफल खेलाडी एवम् एसियन च्याम्पियन तथा ओलम्पियन संगिना वैद्यलाई सम्मान गरेको हो।

वैद्य लाई कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासङ्घ युएईकी अध्यक्ष विजया लक्ष्मी राईले सम्मान पत्र हस्तान्तरण गरेकी हुन। उनलाई विदेशी भूमिमा समेत पञ्चे बाजा सहित भव्य स्वागत गरिएको थियो।

नेपाल मगर सङ्घ, शाखा युएईकी कार्यवाहक अध्यक्ष मनु गाहा मगरले कार्यक्रममा बोल्दै वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र बिस्तारमा दिनुभएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम् भूमिका निर्वाह गर्नु भएकोले उहाँको खेल जीवनको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको बताए।

त्यसै गरी सङ्घका महासचिव नयन घर्ती मगरले नेपाली खेलकुद जगतकी सफल खेलाडी एवम् प्रशिक्षक तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल संगिना वैद्य लाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन।

Comment