दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने घोषण सहित नवौँको समापन

दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौँ राष्ट्रिय खेलकुदका प्रमुख अतिथि  प्रधानमन्त्री शेरबहादुर देउवाले दसौँ राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरे ।
यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औँ बैठकबाट दसौँ राष्ट्रिय खेलकुद २०८१ मङ्सिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।
नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी समापन समारोहका प्रमुख अतिथि  प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतिलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कांस्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पियन बन्न सफल भएको हो ।
समापन समारोहका बिच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।
औपचारिक रूपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद भव्य रूपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।
Comment