पौडीमा दोस्रो दिन पनि नासिर र डुवानाद्वारा राष्ट्रिय कीर्तिमान, एस्लेलाई चौथो स्वर्ण

नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोस्रो दिन नासिरले २०० मिटर फ्रिस्टाइल र २०० मिटर व्यक्तिगत मिड्लेमा गरी दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासिरले २०० मिटर फ्रीमा आफ्नै नाममा रहेको १ मिनट ५८ः३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५ः३९ सेकेन्डको  र व्यक्तिगत मिड्लेमा २ मिनट ११ः८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११ः२३ सेकेन्ड समयका साथ दुई राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५ औँ विश्व फिना च्याम्पियनसिपमा कायम गरेका थिए । २०० मिटर फ्रिस्टाइल सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कांस्य पाए । यस्तै व्यक्तिगत मिड्ले तर्फ एनआरएनका आशिष सापकोटा र बागमतीका सेरेन सिंहले क्रमशः रजत र कांस्य पाए ।

फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा दुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औँ सागमा राखेको ३५ः४६ सेकेन्डको समयमा सुधार गर्दै ३५ः२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन् । एपिएफकी रोयल प्रजापतिले रजत र सेनाकी उपास्थी महर्जनले कांस्य पाइन् ।

महिलाको ८०० मिटर फ्रिस्टाइल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डङ्गोलले १० मिनट ३०ः६४ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुलिसका आर्या महर्जन र समिरा शोभा थापा मगरले रजत र कांस्य पाए ।

५० मिटर ब्रेष्टस्ट्रोको पुरुष तर्फ प्रदेश १ को विकास कुमालले स्वर्ण जिते । उनले उक्त दूरी ३१ः२० सेकेन्ड समयमा पुरा गरेका हुन् । बागमतीका सेरेन सिंहले रजत र पुलिसका दिपंकर अवालले कांस्य पाए ।

महिलाको २०० मिटर फ्रि फ्रिस्टाइल डुवानाले २ मिनट १४ः६४ सेकेन्डका साथ स्वर्ण जित्दा पुलिसका आर्या महर्जन र समिरा शोभा थापाले रजत र कांस्य पाए ।

महिला १०० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन सेनाकी गौरिका सिंहले स्वर्ण जितिन् । उनले उक्त दूरी १ मिनट ५ः५० सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । एनआरएनकी एश्ले सापकोटा डङ्गोलले रजत र सेनाकी अनुशिया तुण्डकारले रजत जिते । पुरुष तर्फ एपिएफका तेन्जिन नामदोल रायन गुरुङले स्वर्ण जिते । गुरुङले १ मिनट २ः८४ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । प्रदेश १ का प्रारम्भ भण्डारी र एपिएफका जाडेन श्रेष्ठले रजत र कांस्य पाए ।

४०० मिटर फ्रिस्टाइल रिलेमा गौरिका सिंह, डुवाना लामा, उपास्थी महर्जन र अनुशिया तुण्डकार समाविष्ट सेनाले ४ मिनट १९ः४५ सेकेन्ड समयका साथ स्वर्ण जित्यो ।

पुरुष तर्फ ८०० मिटर फ्रिस्टाइल रिलेमा युभान लाल श्रेष्ठ, सुनिल कुमार थापा मगर, शंकरसना बहादुर रघुबंशी र सुविज्ञ मान तुलाधर सम्मिलित पुलिसले ८ मिनट २७ः८९ सेकेन्ड समयका साथ स्वर्ण प्राप्त ग¥यो । बागमती प्रदेशले रजत र सेनाले कांस्य पायो ।

आर्मीलाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रोको पुरुष र महिला डबल्समा आर्मीले स्वर्ण पदक जितेको छ ।

नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फको डबल्समा सेनाले प्रदेश नम्बर १ लाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।

अनिल जर्घा मगर, रोशन तामाङ र दीपेश जङ्ग थापाले सेनालाई स्वर्ण दिलाएका हुन् । सो स्पर्धामा रजत पदक प्रदेश नं १ र कांस्य पदक बागमती प्रदेशले जिते ।
यसै गरी महिला डबल्स तर्फ आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ ।

सेनाका लागि चन्दा चौधरी, सुमिना डङ्गोल र सोममाया थापाले स्वर्ण दिलाएका हुन् । गण्डकी प्रदेशले कांस्य पदक प्राप्त गरे ।

सेपाकताक्रोमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिइरहेका छन् ।

शारीरिक सुगठनमा गण्डकी र सेनालाई दुई दुई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभा हलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुई स्वर्ण जितेका छन् । पहिलो दिन ५ स्वर्ण पदककालागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ ।

५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका दिनेश गोसाईंले रजत र सेनाका रमेश फोम्बोले कांस्य पदक पाए ।

६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कांस्य पाए ।

६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङले आफ्नो टिमका लागि दोस्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कांस्य पदक हात पारे ।

७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमशः ः रजत र कांस्य जिते ।

७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए । मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कांस्य पदक प्राप्त गर्न सफल भए ।

ब्याडमिन्टन टिम ईभेन्टस्मा दुवै स्वर्ण सेनालाई
नवौँ राष्ट्रिय खेलकुद अन्तगत पोखरा ब्याडमिन्टन कभर्डहलमा भएको प्रतिस्पर्धाको पुरुष तथा महिला दुवै तर्फको स्वर्ण पदक नेपाली सेनाले प्राप्त गरेको छ । दुवै टिमले एपिएफलाइ पछि पार्दै स्वर्ण जितेका हुन् ।
पुरुष तर्फ वेस्ट अफ फाइभको खेलमा सेनाले एपिएफलाई ३–० ले तथा महिला तर्फ वेस्ट अफ फाईभको प्रतिस्पर्धामा २–० ले पराजित गरेका हुन् । पुरुष तर्फ नेपाल पुलिस र एनआरएनए संयुक्त तेस्रो भए भने महिला तर्फ सुदूरपश्चिम प्रदेश र प्रदेश १ संयुक्त तेस्रो भए ।
Comment