रग्बी खेल सुरु

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका खेलहरू शनिवारबाट कासकीको भण्डार ढिक खेलमैदानमा सुरु भएका छन् ।
शनिवार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशबिच भएको पहिलो खेलमा २४–५ अङ्कको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाइन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।
पुरुषतर्फकै दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ । खेल अवधिभर लुम्बिनी प्रदेशले ४ ट्राईका साथ २० प्वाइन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाइन्टमा मात्रै सीमित हुन पुगेको थियो ।
यस्तै शनिवार नै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफले विजयी सुरुवात गरेका छन् । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अङ्कको अन्तरले पराजित गरेको  छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाइन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अवधिभर १ ट्राईका साथ ५ प्वाइन्ट मात्रै बनाउन सक्यो ।
यस्तै महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेस प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको सुरुवातमै १ ट्राईका साथ ५ प्वाइन्ट बनाएर अग्रता बनाएको मधेस प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाइन्ट बनाउँदै जित हासिल गरेको हो ।
प्रतियोगिताको दोस्रो दिन आइतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरू सञ्चालन हुनेछ ।
Comment