नवौँ राष्ट्रिय खेलकुद सुरु

 नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रूपमा शुक्रवारदेखि सुरु भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन समारोह शुक्रवार भएको हो । पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उद्घाटन गरे ।
उद्घाटन समारोहमा सातौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरे । यसै गरी मूल आयोजक कमिटीका अध्यक्ष महेश्वर जङ्ग गहतराजले झन्डोत्तोलन गरे । राष्ट्रिय खेलकुदको झन्डामा माछापुच्छ्रे हिमालको साथमा शान्ति प्रतीक परेवा झल्कने छ भने राष्ट्रिय झन्डाको स्वरूप दिइने गरी चन्द्रमा र सूर्यको प्रतीक राखिएको छ ।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्च पास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजीसमेत गरिएको थियो । प्रतियोगिता ३ कात्तिकमा सकिने छ । समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।
Comment