फेन्सिङको पहिलो स्वर्ण बागमतीलाई


पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । बागमती टिमले महिला व्यक्तिगत सावर विधामा स्वर्ण जितेको हो । शिक्षा नापितले बागमतीको लागि नवौँमा पहिलो स्वर्ण दिलाएकी हुन् । उनले एपिएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेस्रो स्थानमा सेनाका रविना थापा र मनीषा श्रेष्ठ रहे ।
पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा इपी महिला व्यक्तिगत तर्फ सेनाले वर्चस्व बनायो । सेनाका इन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिइन् । यस्तै सेनाकी पूजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्गतानले जितिन् ।
पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए ।
विजयी खेलाडीहरूलाई बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसूदन बस्नेतले पुरस्कृत गरेका थिए ।
फेन्सिङको आज तीन स्वर्णको छिनोफानो भएको छ ।
प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागीय सहित ६ टिमको सहभागिता रहेको छ ।
विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागिता जनाएका छन् ।
फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।
नवौँ राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

सेनाको दुवै टोलीलाई सफलता
नेपाली सेनाको पुरुष तथा महिला दुवै टिमलाई सफल हात लागेको छ । नवौँ राष्ट्रिय खेलकुद अन्तरगत भएको ह्यान्डबल प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बागमती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको । सेनाको जितमा आकाश अधिकारीको ८ गोल रह्यो । यस्तै सेनाले महिला तर्फ पनि जित निकाल्न सफल भयो । शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो ।
पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुष तर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले । गण्डकीले चन्द्र के.सी.को १० गोल मद्दतले मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दीप कार्कीको ९ गोल मद्दतले लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो । लुम्बिनीका सरण थापाले ९ गोल गरेता पनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सकेनन् ।
महिला तर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरे । प्रदेश १ की उसल राईले ९ गोल गरिन् ।

डिएल मेथडमा पुलिस विजयी
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षाले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षाका कारण बाँकी खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।
खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राईले १ रन जोड्दा कर्णालीका ५ जना शून्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान १ विकेट लिए। ।
टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो ।
पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामीले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।

Comment