समापनको प्रमुख अतिथि प्रधानमन्त्री देउवा

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि  निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रङ्गशालामा हुने नवौँ राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।
नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।
Comment