गुर्जेमा बडा दसैँ महाभिडन्त रेस्लिङ हुने

नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दसैँ महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवपुरी गाउँपालिकाको सह आयोजनामा १५ असोजमा  नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
झन्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ । हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने जनाइएको छ । प्रतियोगिता असोज १५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले रेस्लिङले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भएकाले पालिकाले सहयोग गरेको बताए । ‘यो खेलले यस क्षेत्रको मात्र नभई देशकै पर्यटन व्यवसाय माथि उकास्ने विश्वास लिएका छौँ, उनले भने,‘ यसले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनेछ ।’
शिवपुरी गाउँपालिका वडा नं ६ ले पनि प्रतियोगितामा आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठ, कालिका माविका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
Comment