अजित र राज पुरालाई रोड रेस उपाधि


पिनाकल कलेजका अजित कुमार यादव पुरुष तर्फ र नेपाल पुलिस क्लबकी राज पुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौँ रोड रेस २०७९ मा उपाधि जित्न सफल भएका छन् । ५ किलोमिटरको दौड अजितले १७ मिनट ४५.३ सेकेन्डका साथ र राज पुराले २० मिनट ३५.७५ सेकेन्डका साथ पुरा गरेका थिए । विजयी खेलाडीहरूले नगद २५ हजार, सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
८ औँ संविधान दिवसको अवसरमा संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारी पवन कार्की समूहको आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लबका सन्तोष विक्रम विष्टले निर्धारित दुरी २० मिनट ३५.७५ सेकेन्डका साथ पुरा गर्दै दोश्रो भए । यस्तै १८ मिनट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्रो भए ।
महिला तर्फ २० मिनट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोश्रो र रेखा विष्ट २१ मिनट ३.३५ सेकेन्डका साथ तेस्रो भए ।
दोश्रो र तेस्रो हुने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाण पत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि पार्टीका नेता तथा  अखिल क्रान्तिकारीका पूर्व  अध्यक्ष रमन कुमार श्रेष्ठ, विशिष्ट अतिथि नेपाल ओलम्पिक कमिटीका सचिव, अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स सङ्घका सचिव आर.के. विष्ट र मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ३६५ पुरुष र ११२ जना महिला गरी कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रङ्गशालाबाट सुरु गरी थापाथली, माइतीघर, बबरमहल, बिजुली बजार पुल हुँदै एभरेस्ट होटेलको अगाडीको डिभाइडर हुँदै पुन त्रिपुरेश्वर रङ्गशालामा आएर समापन भएको थियो ।

Comment