नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले चिर प्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
७ हजार समर्थकको बिचमा नेपाललाई जिताउन रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा उनले प्रीति राईको पासमा उनले निर्णायक गोल गरेकी हुन् ।
नेपालले उपाधिका लागि बङ्गलादेशसँग सोमबार खेल्नेछ । यो नेपालको  पाँचौँ फाइनल प्रवेश हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक थापाले महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका हुन् ।
Comment