प्रभाकर नेपाली क्रिकेटका नयाँ प्रशिक्षक

भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेली सकेका छन् ।
क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरिएको जनाएको छ । मनोज प्रभाकर केही दिन भित्रै नेपाल आउने र प्रशिक्षण सुरु गर्ने क्यानले जनाएको छ ।
स्कटल्यान्डमा आइसिसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्के लगत्तै श्रीलङ्काली प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका थिए । उनले नेपाल छाडे लगत्तै नेपाल प्रशिक्षकविहीन थियो ।
प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षकका रूपमा काम गरेका थिए । भारतमा रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षकका रूपमा प्रभाकरले काम गरिसकेको क्यानले बताएको छ ।
प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु’, उनले भनेका छन् ।
प्रभाकरले एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलिसकेका छन् । सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्ड विरुद्ध टेस्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्ड विरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले १९८४ कै अप्रिलमा श्रीलङ्का विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
Comment