रग्बी टोली जकार्ता जाने

एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुन १२ महिला खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको जकार्ता प्रस्थान गर्दै छ ।
खेलाडीहरूमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाखा राई, शर्मिला राई र अपना पौडेल रहेका छन् ।
जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मङ्गोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ । राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । नेपाल टोलीलाई जापानी प्रशिक्षक कात्सुहिसा फुरुचीले पनि २ साता प्रशिक्षण गराएका थिए ।
एसिया रग्बीमा नेपालले चौथो पटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनाईमा सहभागिता जनाएको थियो । भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो । ब्रुनाईमा नेपालले काजकिस्तानमाथि जित रचेको थियो ।
टिम व्यवस्थापकमा बिनु खड्का, अफिसियलमा कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षकमा विनोद तामाङ तथा फिजियोमा लक्ष्मण अधिकारी छन् ।
नेपाली टोलीकी कप्तान एलिसा थापाले टोलीका सबै खेलाडी उत्साहित रहेकी तथा उत्कृष्ट प्रदर्शनको आशा रहेको बताइन् । कप्तान थापाले यस विषम परिस्थितिमा पनि संघले अवसर प्रदान गरेकोमा आभार व्यक्त गरिन् । प्रशिक्षक विनोदले टोलीले राम्रो प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे  ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटा लगायतले एक कार्यक्रमबिच बुधवार बिदाइ गरे ।
Comment