स्वर्ण विजेतालाई २५ हजार रुपैयाँ

२८ असोज  देखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले २५ भदौसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ ।
आइतबार बसेको राखेपको ११३औँ बोर्ड बैठकले १५ भदौसम्म खेलाडी सङ्ख्या तथा २५ भदौसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको हो । नवौँ खेलकुदमा सात प्रदेश, गैर आवासीय नेपाली सङ्घसहित चार वटा विभागीय टिमको सहभागिता हुनेछ । संघले पनि विभागीय टिमको मान्यता पाएको छ ।
बैठकले एउटा टिममा ३३९ महिला र ३६९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने गरी कोटा निर्धारण गरेको छ । नवौँ खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेलका कुल ४ सय ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी सबै खेलाडी र अफिसियलले दैनिक २ हजार भत्ता पाउनेछन् ।
निर्णयअनुसार एकल खेलतर्फको स्वर्ण विजेताले २५ हजार रुपैयाँ र सामूहिक खेलका विजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । रजत र कांस्य विजेतालाई भने पुरस्कारको व्यवस्था छैन ।
प्रतियोगिताका क्रममा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले प्रति कीर्तिमान ५० हजारका दरले प्रोत्साहन पुरस्कार पाउनेछन् ।
राखेप कर्मचारीको सेवा र सर्त सम्बन्धी विनियम तयार गर्न बोर्ड सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन भएको छ । राखेपको भौतिक संरचना र सम्पत्ति यकिन गर्न र प्रदेशलाई हस्तान्तरणको प्रक्रियाका लागि बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा समिति गठन भएको छ ।
खेल सङ्घ विवाद र सहजीकरणको लागि राखेप उपाध्यक्ष शिव कोइरालामा बनेको समितिलाई निरन्तरता दिने निर्णय भएको छ । यसअघि मन्त्री स्तरीय निर्णयबाट उनले जिम्मेवारी पाएका थिए ।
Comment