सफल खेलकर्मी संगीनालाई खेलकुद परिषदबाट उप निर्देशकको थप जिम्मेवारी 

तेक्वान्दोको वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्य प्रविधि प्रयोग तथा अनुसन्धानको उप निर्देशकमा नियुक्त भएकी छन् ।
यस अघि संगीना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक रहँदै आएकी थिइन् । उनलाई शुक्रवार तालीम तथा प्रशिक्षक विभागका प्रमुख अर्जुन विकले जिम्मेवारीको पत्र हस्तान्तरण गरे । वैद्यले परिषद्ले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
संगीना नेपाली खेलकुदमा  खेलाडी र प्रशिक्षकको रूपमा उत्तिकै सफल विरल व्यक्तित्वको रूपमा परिचित छन् । तेक्वान्दोको एसियाली च्याम्पियन समेत रहेकी संगीना ओलम्पिक खेलकुदमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत हुन् । साथै उनले दुई पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।
प्रशिक्षकको रूपमा १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाली तेक्वान्दो टोलीले सानदार प्रदर्शन गर्दा उनी पनि प्रशिक्षण टोलीमा समावेश थिइन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीलाई प्रशिक्षण दिएकी संगीनाको प्रशिक्षणमा नेपाल आर्मीले एक दशक भन्दा बढी घरेलु प्रतियोगितामा पकड जमाएको थियो ।
Comment