सुदुर पश्चिम प्रदेश मुख्यमन्त्री कप ब्याडमिन्टन सम्पन्न

 सुदुर पश्चिम प्रदेश खेलकुद परिषद्को आयोजना तथा सुदुर पश्चिम प्रदेश ब्याडमिन्टन सङ्घको व्यवस्थापनमा मुख्य मन्त्री कप सुदुर पश्चिम प्रदेश स्तरीय यु–१९ र यु –१५ छात्र तथा छात्रा ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिवार सम्पन्न तीन दिने प्रतियोगितामा सुदुर पश्चिम प्रदेश भरीका ९ वटै जिल्लाहरूबाट ७२ जना खेलाडी सहभागी थिए ।
प्रतियोगितामा यु–१९ छात्र तर्फ कैलालीका रोशन सावद कैलालीकै चन्द्रिका कठरीयालाई सोझो सेटमा हराउँदै प्रदेश च्याम्पियन बन्न सफल भए ।
कञ्चनपुरका प्रकाश चन्द र सौरभ बम तेस्रो भए । त्यसै गरी यु–१९ छात्रा तर्फ कञ्चनपुरकी बिस्ना विष्ट आफ्नै जिल्लाकी नीलिमा महरालाई सोझो सेटमा हराउँदै प्रदेश च्याम्पियन बन्न सफल भइन । कैलालीकी एलिना तिरुवा र ऐश्वर्य सिंह तेस्रो भए ।
प्रतियोगिताको यु – १५ तर्फ कैलालीका पारस उपाध्यायले आफ्नै जिल्लाका शिशिर रानालाई हराउँदै पहिलो स्थान हात पारे । कैलालीका दीपेश बोहरा र अछामका विशाल विष्ट तेस्रो भए  । सोही उमेर समूहको छात्रा स्पर्धामा कैलालीकी रन्जु राना पहिलो र बैतडीकी समीक्षा विष्ट दोस्रो भए । अछामकी कल्पना ढुङ्गाना र डोटीकी दीप्ति जोशीले तेस्रो  स्थान हात पारे ।
प्रतियोगितामा पहिलो हुने खेलाडीले १५ हजार, उपविजयीले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
सुदुर पश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको समापन समारोहमा सुदुर पश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैेका प्रमुख अतिथि थिए ।  प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष ऋषीकेश श्रेष्ठ , क्षेत्रीय प्रशिक्षण प्रमुख मेघराज कठायत र जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री लगायतको उपस्थिति  थियो । प्रतियोगिताको व्यवस्थापन एवं सञ्चालन सुदुर पश्चिम ब्याडमिन्टन संघले गरेको थियो ।
प्रतियोगिताको मुख्य रेफ्री टेक बहादुर घर्ती थिए ।
Comment