सन्तोष र मन्जु पहिलो


बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मन्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मन्जु च्याम्पियन बनेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेश प्रदेशका विश्व लामालाई पराजित गरे । आर्मीका सनी सिंह तेश्रो र बाग्मतीका विक्रम मोक्तान चौथो भए ।
महिला खुलाको उपाधि भिडन्तमा मन्जुले आर्मीकै विन्दु पुनलाई हराइन् । बाग्मतीकी निशा चौधरीले कांस्य जितिन् भने प्रदेश १ की सुस्मिता राई चौथो बनिन् । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार, तेश्रोले १५ हजार र चौथोले १० हजार रुपैया पुरस्कार हात पारे ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि मधेशका धर्मेन्द्र रायले स्वर्ण जिते । उनले फाइनलमा गण्डकी प्रदेशका अनिल बरामलाई पाखा लगाए । आर्मीका सुनिल कुँवर तेश्रो तथा मधेशका एलिस बम्जन चौथो स्थानमा रहे । शीर्ष चार स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो

Comment