१२ स्वर्ण सहित नेपाल च्याम्पियन

मित्र राष्ट्र भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न ज्येष्ठ २७ गते त्यस तर्फ प्रस्थान गरेको थियो ।
स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा के.सी.(१३ वर्ष), झरना के.सी.(१४ वर्ष), सुरोज राजवाहक (१५ वर्ष), एन्जीला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), शर्मिला वाइबा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) रहेका छन् । यसै गरी नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।
यस्तै रूपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।
प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरी १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरी २३ सदस्य रहेका छन् ।
Comment