कोटेश्वर नै अझै उत्कृष्ट  

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रञ्जित तामाङलाई पराजित गरे । आयोजककै दीपकसिंह सिटौला र सुनसरीका अफान श्रेष्ठ तेस्रो भए ।
पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात पारे । फाइनलमा उनले चाँदनीका आशिष माझीलाई हराए । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेस्रो भए ।
महिला ३१ केजीमुनि चन्द्रागिरिकी सेली गुरुङले फाइनलमा बाँकेकी रितु राजकोटीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरिन् । आयोजककी रित्तीका थापा र एसकेबीसीकी याङजुम शेर्पाले तेस्रो स्थानमा चित्त बुझाए । महिला ३७ केजीमुनि बाँकेकी अनु थापा पहिलो भइन् । अनुले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई पन्छाइन् । एसकेबीसीकी देबुना केसी र राष्ट्रिय विभूतिकी सन्जी सापकोटा तेस्रो बने ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टिक लाल घिसिङले निर्णायक नोर्बु लामालाई खेल सामाग्री हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा भइरहेको ।
काठमाडौं महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ग्योरोगी र पुम्सेका उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
प्रतियोगिता विभिन्न बाधा अड्चनका बाबजुद डोजाङ नेतृत्वको दृढ प्रतिबद्धताका बाबजुद भएको हो । आयोजक डोजाङ नेपाली तेक्वान्दोको पायनीयर डोजाङ हो । तेक्वान्दोमा मुख्य प्रशिक्षक नबिन कुमार श्रेष्ठले सञ्चालन गरेका यसै डोजाङका ३ खेलाडीले गत दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।
पछिल्लो समय मुख्य प्रशिक्षक श्रेष्ठका विरुद्धमा नेपाली तेक्वान्दोको एउटा ठूलो समूह सक्रिय रहे पनि यसले डोजाङको गतिलाई प्रभाव पारेको छैन ।
Comment