रिकेश च्याम्पियन


आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका रिकेश तामाङ सातौँ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिवार च्याम्पियन भएका छन् ।
बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफी सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।
काभ्रे आइटिएफ तेक्वान्दो सङ्घ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेस्रो भए ।
दोस्रो एका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्क लाल घिसिङले एक कार्यक्रमबिच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठुलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए ।
‘यस किसिमका व्यावसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ । मैले यो खेललाई नवौँ राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु । आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुने छ’ सदस्य–सचिव घिसिङले भने– ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले  यहाँको सभ्यता र संस्कृति देशभर पुर्‍याउनु हुनेछ । यसले खेलको विकास मात्र नभई यहाँको पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’
नेपाल अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो महासङ्घका अध्यक्ष अञ्जन धमलाले पछिल्ला समय नेपालको खेलकुदमा सदस्य–सचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए । ‘खेल भावना बुझेको र लामो समयदेखि खेल सङ्घको नेतृत्व गर्दै आउनु भएका खेल पदाधिकारीलाई नेपालको खेल नेतृत्वका रूपमा पाएको छौँ । यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल सङ्घको भावना बुझेर उहाँले काम गरिरहनु भएको आभास हामीले पाएका छौँ ।’– धमलाले भने ।
सो कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) का कार्यकारी सदस्य एवम् अखिल नेपाल खेलकुद महासङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीलगायतको उपस्थिति   थियो ।

Comment