कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् ।
उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो ।
खेलकुद पृष्ठभूमिका ४४ वर्षिय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् । कक्षपतिले २०५२ सालदेखि क्योकुसिन कराते खेल्न थालेका थिए । उलने २०५५ सालदेखि क्योकुसिनसंगै मुवाँथाई खेललाई पनि संगसंगै अघि बढाए । उनले सन् २०१० मा थाइल्यान्डमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्योकुसिन करातेका तेश्रो डान कक्षपति मुवाँथाईका सहायक ग्रान्ड मास्टर हुन् ।
कक्षपतिकी छोरा पलिस्था पनि मुवाँथाई खेलाडी हुन् । पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् भने इन्डो–नेपाल मुवाँथाईको तीन फरक संस्करणमा नेपाललाई स्वर्ण दिलाएकी छन् ।
पदभार ग्रहण कार्यक्रममा कक्षपतिले वार्षिक क्यालेन्डर तयार गरी काठमाडौं जिल्लाको खेलकुदलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा भइसकेकाले आफ्नो पहिलो प्राथमिकता त्यही हुने बताए । उनले खेलकुदमा लागेको व्यक्तिलाई काठमाडौं जिल्लाको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए ।
कार्यालय प्रमुख राईले कार्यालयको अवस्था बारे जानकारी गराउदै खेलकुद पृष्ठभूमिकै व्यक्ति अध्यक्षको जिम्मेवारीमा आएकोले सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरिन् ।

Comment