प्रिन्सलाई र रसिलाले जिते योनेक्स सनराइजको उपाधि

योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधि रिभाइभ क्लबका  प्रिन्स दाहालले जितेका छन् । उपाधि जित्ने क्रममा प्रिन्सले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गरेका हुन् ।
यसै गरी, महिला एकलतर्फको उपाधि त्रिभुवन आर्मीकी रसिला महर्जनले जितेकी छिन् । उनले  आफ्नै क्लबकी अनु माया राईलाई हराएकी हुन् ।
रसिलाले सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गर्दै २१–१२ र २१–१८ को सोझो सेटमा हराएकी हुन् ।
रसिलाको यो लगातार तेस्रो उपाधि हो ।  चैतमा सम्पन्न चौथो योनेक्स सनराइज जेष्ट राष्ट्रिय ब्याडमिन्टन र फागुनमा सम्पन्न भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि पनि उनले जितेकी थिइन् ।
यसै गरी, पुरुष युगलको उपाधि पविन लिनथेप र सुरोज महर्जनलाई हराउँदै प्रिन्स र नवीनले जिते । एनआरएनका साहिल चन्दलाई हराउँदै सिल्क ग्रुपका कबिर केसीले १५ वर्ष मुनीको उपाधि जिते । आर्मी क्लबका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई हराउँदै १९ वर्ष मुनीको उपाधि जित्न सफल भए । महिला तर्फ आफ्नै क्लबकी रोज पाण्डेलाई आर्मीकी प्रार्थना देउवाले १९ वर्ष मुनिको उपाधि जितिन् । १५ वर्ष मुनीको  फाइनलमा पाण्डेले बिबिएका रोजी राईलाई हराइन् ।
Comment