योनेक्स प्रधानमन्त्री कप सोमबारदेखि

योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय र्याङकीङ खुला ब्याडमिन्टन प्रतियोगिता सोमबार सुरु हुँदै छ । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ३ सय ५० जना खेलाडीको सहभागिता रहने शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक तथा नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए ।
प्रतियोगिता  हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजक टाइगर ब्रुअरीको अन्नपूर्ण छ भने योनेक्स सनराइजको मुख्य भूमिका रहेको छ । यसै गरी वेभरेज पार्टनरको रूपमा आरसी कोला तथा प्रोमोटरमा १०० स्पोर्ट्स तथा खेतान स्पोर्ट्स फाउन्डेसन छन् । प्रतियोगिताको टिकटीङ पार्टनर सजिलो पे रहेको छ ।
प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल,यु–१५ व्वाइज, यु–१५ र्गल्स, यु–१९ ब्वाइज र यु–१९ र्गल्स स्पर्धा समावेश छन् । यसै गरी, मास्टर खुला ५५ वर्ष माथि तथा मास्टर खुला ४५ वर्ष माथिको स्पर्धा पनि समावेश गरिएका छन् ।
प्रतियोगिताको खुला एकल तर्फका विजेताले १ लाख १५ हजार तथा उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी, सेमिफाइनलीस्टले १५ हजार रुपैयाँ पाउने छन् ।
१५ वर्ष मुनीको समूहमा उपाधि विजेताले १० हजार, उपविजयीले ५ हजार तथा सेमिफाइनलीस्टले ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । १९ वर्ष मुनिको समूहमा उपाधि विजेताले १५ हजार, उपविजयीले ७ हजार  तथा सेमिफाइनलीस्टले ३ हजार ५ सय रुपैयाँ पाउने छन् ।
पुरुष युगलको उपाधि विजेताले ५० हजार, उपविजयीले २५ हजार  र सेमिफाइनलीस्टले १० हजार रुपैयाँ पाउने छन् ।
मास्टर्स तर्फको उपाधि विजेताले ३५ हजार, उपविजयीले २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।
यस प्रतियोगितामा संलग्न योनेक्स नेपाली ब्याडमिन्टनको पायनीयर बनी सकेको छ । पछिल्ला केही वर्ष यता थुप्रै ब्याडमिन्टन प्रतियोगितामा योनेक्सको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । प्रतियोगिता प्रायोजन र खेलाडी प्रायोजन दुवै क्षेत्रमा योनेक्सले सहयोग गर्दै ब्याडमिन्टन विकासमा अतुलनीय योगदान गरेको छ ।
Comment