हेरिटेज रिङ रेस्लिङको हेभी वेटमा डेभिड च्याम्पियन

प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेट विधामा चट्टान च्याम्पियन बनेका छन् । काठमाडौँको वसन्तपुर डबलीमा शनिवार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेको हो ।
च्याम्पियन बनेसँगै डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ७५ हजार प्राप्त गरे । यो विधामा अघिल्लो पटकको च्याम्पियन चट्टान तेस्रो भए । तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा साइन घाइते भएर खेल्न नसक्ने भएपछि रेफ्रीले उनलाई विजेता घोषणा गरेको थियो । हाडकोर च्याम्पियन उनले ८५ हजार पाए । नुवाकोटे टाइगरले चट्टानलाई तथा डेभिडले साइनलाई पराजित गर्दै फाइनलको भिडन्त तय गरेका थिए । ट्याग टिममा योङ स्याडी र सिजे वल्डको जोडीले स्पाइडर म्यानलाई पराजित गर्दै च्याम्पियन बने । ट्याग टिम च्याम्पियन जोडीले ९५ हजार रुपैयाँ हात पारे ।
निकै नै रोमाञ्चक बनेको लाइट वेट फिमेलमा तन्नुलाई पराजित गर्दै आकृति च्याम्पियन बनिन् । च्याम्पियन आकृतिले ६५ हजार रुपैयाँ हात पारिन् ।
च्याम्पियन खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिना, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव पुरेन्द्र विक्रम लाखे, राखेप सदस्य एकेन्द्र कुँवर, चन्द्र बदना राई, रिङ रेस्लिङ सङ्घका महासचिव सुवर्ण श्रेष्ठ लगायतले पुरस्कृत गरे । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए ।
नेपाल रिङ रेस्लिङको आयोजना तथा काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, साइन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरूको प्रतिस्पर्धा गरेका थिए ।

Comment