नेपाली बक्सर माथि प्रकाशको विश्वास


थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रवार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ ।
अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा मगरले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । महिला ४८ केजीमा सुषमा तामाङ, ५१ केजीमा १३ औँ सागकी स्वर्णधारी मिनु गुरुङ, ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहेका छन् ।
टिम प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकमा आईबा वान स्टार रेफ्री÷जज धनकुमार मैनाली छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा र नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे ।

विगत केही वर्ष देखि नेपाली बक्सर राम्रो लयमा रहेका कारण यस प्रतियोगितामा स्तरीय प्रदर्शन गर्ने आसमा रहेका मुख्य प्रशिक्षक थापा बताउँछन् ।

Comment