बस्नेत बने ओलम्पिक सङ्ग्रहालयका सल्लाहकार

नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा १ न प्रदेश खेलकुद विकास बोर्डका कार्यकारी सदस्य सचिव कृष्ण ( परशुराम) बस्नेत नेतृत्वको टोलीले नेपाल ओलम्पिक सङ्ग्रहालयको अवलोकन गरेको छ ।
मङ्गलवार ललितपुरको सातदोबाटो स्थित सङ्ग्रहालयको अवलोकन गर्न महासङ्घ अध्यक्ष बस्नेतको साथमा नेपाल खेलकुद महासङ्घको निवर्तमान उपाध्यक्ष तथा बाग्मती प्रदेश नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाईँ र नेपाल खेलकुद महासङ्घ सङ्गठन विभाग प्रमुख युवा नेता दीपेन्द्र दाहाल लगायतको टोली साथमा थिए ।
त्यस समयमा सङ्ग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बस्नेतसँग कुरा गर्दै  ’खेलकुद क्षेत्रको देशकै इतिहास बोकेको सङ्ग्रहालय २७ वर्ष देखि कसैको सहयोग विना नै सञ्चालन हुँदै आएको तथा जग्गा र भवन नभएको गुनासो व्यक्त गरे । श्रेष्ठले हामी नेपाली खेलकुद क्षेत्र कै ऐतिहासिक डकुमेन्ट्री बनाउन चाहेको बताउँदै यसकालागि सहयोगको अपेक्षा रहेको बताएका थिए ।
उनले सङ्ग्रहालयकै अवलोकनको सिलसिलामा महासङ्घ अध्यक्ष बस्नेतलाई सङ्ग्रहालयको सल्लाहकारमा पनि चयन गरे ।
अवलोकन समाप्त पछि सञ्चारकर्मीसँग कुरा गर्दै महासङ्घ अध्यक्ष बस्नेतले ऐतिहासिक सङ्ग्रहालयको सल्लाहकार हुन पाउँदा साँच्चै गर्व लागेको बताए । साथै उनले त्यस सङ्ग्रहालय प्रति आफ्नो जिम्मेवारी थपिएको पनि बताए ।
उनले आफ्नो व्यक्तिगत तथा महासङ्घको तर्फबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले १ नं प्रदेशमा यसै शैलीको सङ्ग्रहालय स्थापना गर्न पहल गरेको तथा डकुमेन्ट्रीको पनि पहल भइरहेको बताए ।
सङ्ग्रहालयमा नेपाली खेलकुदका थुप्रै ऐतिहासिक विवरण विवरणलाई आकर्षक किसिमले सजाइएको छ ।
Comment