जिजित्सु टोली बहराइन जाने


छैटौँ एसियाली जिजित्सु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहितको नेपाली जिजित्सु टोली शनिवार बहराइनको मानामा जाने भएको छ ।
चैत १४ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६९ केजीमा कोसिस श्रेष्ठ र ७५ केजीमा सन्तोष खत्रीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । जिजित्सुमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाइएको छ ।
टिम प्रशिक्षकमा मेघबर चेम्जोङ छन् । नेपाल जिजित्सुका अध्यक्ष दयाराम पाण्डे पनि वार्षिक साधारण सभामा भाग लिन बहराइन जाने छन् । अध्यक्ष पाण्डे सोमबार मात्र त्यसतर्फ प्रस्थान गर्ने छन् ।
प्रतियोगिताको तयारीका लागि खेलाडीलाई १ महिनादेखि बन्द प्रशिक्षणमा राखिएको प्रशिक्षक चेम्जोङले जानकारी गराए । उनीहरूले नारायणचौरस्थित रेज फिट्नेसमा प्रशिक्षण गरिरहेका छन् ।
यात्राका लागि खेलाडीको प्रायोजन होन्डाले गरिदिएको बताइएको छ । अन्य सहयोगीमा रेज फिट्नेस, सेन्ट जेभियर्स ब्याच अफ १९९० र ओमेगा च्याम्पियनसिप रहेका छन् ।
टोलीलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले शुक्रवार एक कार्यक्रमबिच विशाल नगरमा बिदाइ गरे । जिजित्सु मार्सल आर्ट्सको एक विधा हो ।

Comment