राष्ट्रिय तेक्वान्दो शुक्रवारदेखि


राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औँ संस्करण शुक्रवारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब ३ सय खेलाडीको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रदेश छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट र उदीयमान ४२ खेलाडीसहित करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सिनियर र जुनियरमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । सिनियरको पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धा समावेश छन् । जुनियरको पुरुष÷महिलामा ५–५ गरी १० स्पर्धामा खेल हुने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक राम गिरीले जानकारी दिए । यसै प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने छ । दुई दिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ । प्रतियोगिताको १६ औँ संस्करण २०७५–७६ मा भएको आठौँ राष्ट्रिय खेलकुदका दौरान भएको थियो ।

Comment