दिनेश र रुबिका च्याम्पियन

नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेस्रो भए । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेस्रो स्थानमा चित्त बुझाइन् । फाइनल यात्रा तय गर्न रुबिकाले एपीएफकी सञ्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेप बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, आईटीएफका अध्यक्ष अञ्जन धमलालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा ५४ खेलाडी सहभागी थिए ।
आयोजक गिरिजा प्रसाद कोइराला मेमोरियल फाउन्डेसन खेलकुद विभाग बागमती प्रदेशकी अध्यक्ष तुलसी थापा मगरको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको हो ।
Comment