श्रीजन र नीरज भिड्ने


कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्पm ४७–५५ केजी तौलसमूह र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कुल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा पहिलो दिन १६ खेलाडीले दोस्रो चरणको यात्रा तय गरे ।
आइतबार दोस्रो चरणमा लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साह, लुम्बिनी प्रदेशका राहुल थापा र आर्मीका प्रेम मगर, मधेशका आशुतोष पासवान र गण्डकी प्रदेशका भरत कुमाईंबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी गण्डकीका प्रवीण बुढाले दोस्रो चरणमा लुम्बिनीका भुवन श्रेष्ठको सामना गर्दा आर्मीका दिनेश बुढामगर र गण्डकीका एक्सन मगरले पनि तेस्रो चरणको यात्राका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन् । दोस्रो चरणकै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमकै राकेश जलगडी र निकेश कटुवाल तथा बाग्मतीका निर्मल घिसिङ र कर्णालीका प्रकाश विकबीच भिडन्त हुने छ । सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट २७÷२७ पुरुष÷महिला खेलाडी सहभागी छन् ।
महिलातर्पm भने आइतबार मात्र प्रतिस्पर्धा हुने फाउन्डेसनअन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापा मगरले जानकारी दिइन् ।
प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । सो अवसरमा बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, प्रतिनिधिसभा सांसद मानबहादुर विश्वकर्मा, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति थियो । पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा च्याम्पियनसिप आयोजना गरिएको हो । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजक गिरिजा प्रसाद कोइराला मेमोरियल फाउन्डेसन खेलकुद विभाग बागमती प्रदेशकी अध्यक्ष तुलसी थापा मगरको संयोजकत्वमा प्रतियोगिता आयोजना भएको हो ।

Comment