ब्याडमिन्टनमा मनपरी तन्त्रको आरोप

 पदावधि सकिएको लगभग दुई वर्ष पुरा भएको नेपाल ब्याडमिन्टन सङ्घको विभिन्न गतिविधिको अहिले चर्को आलोचना भइरहेको छ । रामजी बहादुर श्रेष्ठ अहिले सङ्घ अध्यक्ष छन् । यस कार्य समितिको  पूर्ण बैठक नै नबसेको तथा वार्षिक साधारण सभा नै नबोलाइएका कारण यसको औचित्य माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
पछिल्लो समय सचिवालय बैठक नै नबोलाई अध्यक्ष, महासचिव र एक जना सचिवको भरमा निर्णय हुन थालेको आरोप ब्याडमिन्टनकर्मीको छ । विधि र विधान लाई समेत नजरअन्दाज गर्न थालिएको धेरै जना बताउँछन् ।
आफ्नो तर्फबाट राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नगर्ने तथा अन्य निकायले गरेको  राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा टेक्निकल अफिसियलहरु पठाउने र उनीहरूको मेहनतको लाभ सङ्घ नेतृत्वले लिने गरिएको जनाइन्छ ।
यो विवाद १२ देखि १५ चैतसम्म भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गर्न लागेको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्रममा पनि देखिएको छ ।  मुख्य ५ वटा विधाहरू  समावेश नै नगरिए तापनि बरीयताको अङ्क दिने निर्णय पनि तिन जना पदाधिकारीको मिलेमतोमा गरिएको जनाइन्छ ।
ब्याडमिन्टन सङ्घका अन्य केही पदाधिकारीहरूले जनाए अनुसार मुख्य ५ वटा विधाहरू पुरुष एकल, पुरुष युगल, महिला  एकल, महिला युगल र मिश्रित युगल वरीयता सहितको प्रतियोगिताका लागि आवश्यक हुने गर्छ ।
नेपाल ब्याडमिन्टन सङ्घको वरियता प्रविधि समेत अवैज्ञानिक रहेको जनाइन्छ ।   यसका लागि सुरुमा लिस्ट प्रकाशित गर्ने र यसमा दाबी विरोध आए  पछि फेरी अर्को पटक सच्याउने काम गरिन्छ ।
केही विदेश पलायन भएका खेलाडी आफूलाई मन परेकै कारण हटाइएको छैन । आफूलाई मन नपरेका खेलाडी अध्ययनको क्रममा विदेशमा रह पनि ती खेलाडीहरूको नाम भने हतारिएर ३ वर्ष अघि नै निकालिएको छ ।
धेरै ब्याडमिन्टनकर्मी वर्तमान उपाध्यक्ष नरेश बहादुर सिंहको उम्मेदवारीले उत्साहित भएका छन् । विगतमा रहेका थुप्रै बेथितिलाई हटाउनका लागि सिंहको उम्मेदवारी आवश्यक रहेको मत समेत व्यक्त गर्न थालेका छन् ।
Comment