प्लाजा होटेल ग्रुपसँगको प्रायोजन निरन्तर

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटेल ग्रुपसँग सह प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
सह प्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटेल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबिच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
१८ औँ संस्करणको पल्सर अवार्ड ८ चैतमा  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ ।
सह–प्रायोजक बनेबापत प्लाजा होटेल ग्रुपले अवार्डका कार्यक्रमका लागि आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यस सहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने छ ।
सम्झौता कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटेल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे । स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबल टेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।
Comment