नेपाली सेना टिम च्याम्पियन

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो । दोस्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको हो । तेस्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य जित्यो ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल फेन्सिङ सङ्घको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाइनलमा  सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्च्याइन् । तेस्रो स्थानमा सेनाकी मनीषा राई र बागमतीकी अन्जु तामाङ रहे ।
पुरुषको टिम फ्वाईल तर्फ सेनाले जित हात पार्दै स्वर्ण पदक जित्यो । सेनाले बागमतीलाई ४५–२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनायो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे ।
यस्तै टिम महिला सावरमा पनि सेनाले नै स्वर्ण जित्यो । फाइनलमा सेनाले एपिएफलाई ४५–३६ अङ्कले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।
महिला टिम फ्वाईल तर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जित्यो । एपिएफले बागमतीलाई ४५–३६ अङ्कले पराजित गरेको हो । यस्तै यस विधामा सेना र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाए ।
पुरुष इपी टिम तर्फ सेनाले एपिएफलाई ४५–४० अङ्कले पराजित गर्दै स्वर्ण हात पा¥यो । तेस्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नं. १ रहे ।पुरुष सावर तर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अङ्कले पछि पार्दै स्वर्ण जितेको हो । नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा व्यक्तिगत स्पर्धा तर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ सङ्घका महासचिव सुजन लाल श्रेष्ठले व्यक्तिगत १० हजारले सम्मान गरे । यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको पुरस्कार पाएका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरू सन्तोष पाण्डे र विशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे । प्रतियोगितामा गण्डकी प्रदेशबाट सबै भन्दा कम उमेरकी खेलाडी (११ वर्ष) प्रतीक्षा रानाले पनि सहभागिता जनाएकी थिइन् । उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिइन् ।
विजयी खेलाडीहरूलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउन्डेसनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ सृजना सिंह, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभाष श्रेष्ठ लगायतले पुरस्कार  प्रदान गरे ।
Comment