स्कुल बक्सिङ अर्को महिना

नेपाल बक्सिङ सङ्घको तत्त्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुल स्तरीय ब्वाइज÷र्गल्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहकाले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुष्कर राज पन्तले जानकारी गराए । पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुने छ ।
प्रतियोगितामा करिब २२–२५ जिल्ला तथा क्लबका ७०–८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता नोभेम्बरमा बहराइनमा हुने एएसबीसी एसियाली स्कुल बक्सिङ प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक छनोटका रूपमा रहेको छ ।
करिब १२ लाख अनुमानित खर्च रहेको तीन दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले स्कुल स्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउँदै आयोजकलाई धन्यवाद दिए । प्रतियोगिताका दौरान १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्णधारी त्रय भूपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने भएको छ ।
Comment