विद्या संस्कार फुटसलको उपाधि ड्याफोडिललाई

“आठौँ संस्करणको विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७८” को उपाधि ड्याफोडिलले उचालेको छ । ड्याफोडिलले एस स्कुल माथि ४ – ३ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालेको हो ।
ड्याफोडिलले २० हजार रुपैयाँ पायो । उपबिजयी एस स्कुलले १० हजार रुपैयाँ पायो । जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउन्डेसन अन्तर्गत विद्या संस्कार स्कुलको खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टिम र खेलाडीलाई बागमती प्रदेशको ऊर्जा, खानेपानी तथा  सिँचाई मन्त्री वसन्त मानन्धरले पुरस्कार वितरण गरे ।
सो प्रतियोगितामा एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी तथा सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त शीर्ष गोलकर्ता भए ।, न्यु जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट फरवार्ड, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान प्रेरणादायी खेलाडी तथा  ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक भए ।  सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको उपाधि पायो ।
प्रतियोगिताका अन्य विजयी खेलाडी, अफिसियललाई माधव केसी र सहदेव श्रेष्ठ तथा सञ्चारकर्मीलाई विद्या संस्कार स्कुलका सञ्चालकहरू सुरेश अधिकारी, राजेश अधिकारी तथा शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तानले पुरस्कार वितरण गरेका थिए । समारोहमा मन्त्री मानन्धरलाई विद्यालयको तर्फबाट विद्या संस्कार स्कुलका सञ्चालकहरू सुरेश अधिकारी र राजेश अधिकारीले सम्मान गरेका थिए ।
विद्या संस्कार स्कुलको खेलकुद विभाग प्रमुख राजन न्यौपानेका अनुसार आठौँ संस्करणको प्रतियोगितामा काठमाडौँ र ललितपुरका गरी १२ वटा विद्यालयका खेलकुद शिक्षकले भाग लिएका थिए । न्यु एरा स्कुल, न्यु जेनिथ स्कुल, ड्याफोडिल स्कुल, साइपाल एकेडेमी,एस स्कुल,एन्जल हार्ट स्कुल,एजिएम स्कुल, रिब्स स्कुल, द एक्सेल्सर स्कुल, प्रिमियर स्कुल, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तर खेल सहभागी थिए ।
Comment