ओमकारलाई दुई स्वर्ण
बागमती प्रदेशका ओमकार सिंहलले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा पुरुष व्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकै नै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अङ्कले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडि परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेस्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे ।
वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल फेन्सिङ सङ्घको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपी तर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले निकै नै प्रतिस्पर्धात्मक खेलमा जङ्ग गिरीलाई १०–९ अङ्कले पराजित गरेका हुन् । निर्धारित समय सम्म दुवैको समान ९–९ अङ्क भए पछि निर्णयका लागि थप गरिएको १ मिनटमा सिंहले अङ्क जोड्दै १०–९ अङ्कका साथ विजयी भएका हुन् । सेनका मीन कार्की र बागमतीका भीष्मराज (तार्जन) दाहालले कास्य पाए ।
यस्तै पुरुषकै फ्वाईल तर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अङ्कले पराजित गर्दै स्वर्ण जितेका हुन् । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेस्रो हुँदै कास्यमा सीमित भए ।
शनिवारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र प्रदेश नं. १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका ११४ खेलाडीहरूले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरी तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।