कीर्तिपुरमा बक्सिङ खेलाडीहरू सम्मानित

दक्षिण एसियाली मुलुकहरूको १३ औँ साफ खेलकुदमा बक्सिङ खेलमा नेपालको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई एक कार्यक्रमका बिच कीर्तिपुरमा सम्मान गरिएको छ । मार्सल आर्ट आर्गनाइजेसन नेपालको आयोजनामा फागुन २१ गते शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्र को ‘विथ लाेकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान-पत्र हस्तान्तरण गरे ।
 सम्मानित हुने खेलाडी तथा कोचहरूमा बक्सिङ खेलमा लामो समयसम्म कोच भई योगदान गरेका कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई  ५० हजार रुपैयाँ , साफमा स्वर्ण पदक विजेता मिना गुरुङ र भूपेन्द्र थापालाई  पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरियो । रजत पदक पदक विजेता खेलाडीहरू ललिता महर्जन, माला राई, सङ्गीता सुनार, पुनम रावल, गणेश प्रशान्त   र आशिष दवाडी सम्मानित भए ।  कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फाैजु र प्रमीला राई सम्मानित भए  ।
मार्सल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु सङ्घका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए भने विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजनल खड्का, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीको उपस्थिति रहेको थियो । आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिकाका १० वडा र विद्यालयका गरी सय जना महिला तथा छात्राहरूको सहभागिता रहेको तियो ।
Comment