बागमतीकी शिक्षा र सेनाकी सितालाई लाई स्वर्ण


बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला व्यक्तिगत सावर तर्फ स्वर्ण हात पार्न सफल भएकी हुन् ।
नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९ अङ्कले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ र सेनाकी मनीषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए ।
यस्तै आजै भएको महिला ईपी तर्फको खेलमा सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतान बिच भएको फाइनल प्रतिस्पर्धामा सिताले बाजी मारिन् । सिताले १५ – १२ अंका साथ स्वर्ण कब्जा गरिन् । तेस्रो स्थानमा एपिएफकी अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।
वीर गणेशमान सिंह स्पोर्टस् कमिटी र नेपाल फेन्सिङ सङ्घको संयुक्त आयोजनमा शनिवारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका ११४ खेलाडीहरूले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरी तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं वीर गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले  उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै सिंहले वीर गणेशमान सिंहको साहस, त्याग, तपस्या र अनुशासनलाई जनमानसमा ताजा गराई रहन साहस र अनुशासनको पर्याय खेलकुद पनि एक माध्यम रहेको बताए ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा, चतुरानन्द राज वैद्य, अशोक रत्न बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ र दीपक हर्ष बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

Comment