पुरुषमा आर्मी च्याम्पियन, महिलामा अनुषाको पुलिसलाई सफलता

विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै पराजित ग¥यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अङ्क योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे ।
सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वाटरमा अग्रता बनायो । आर्मीले क्रमशः २२–१०, २४–२०, १७–१६ र २७–१२ को प्रदर्शन ग¥यो ।
महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अङ्क सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बद्ला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अङ्क जोडिन् ।
पहिलो क्वाटरमा दुवैले ८–८ को बराबरी खेले । प्रहरी दोस्रोमा २०–१५ र तेस्रोमा १४–११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५–१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।
पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे । पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए । दुवैलाई समान ७ हजार नगदबाट पुरस्कृत  गरियो ।
विजेतालाई सङ्घीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, आयोजक सङ्घका अध्यक्ष भीम सिंह गुरुङ, स्व. लामाका पिता लामा पासाङ शेर्पालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।
नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको राउन्ड रोविन लिगमा ५ टिम सहभागी थिए । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि राखेप कभर्डहलमा पहिलो पटक बास्केटबलको प्रतियोगिता भएको हो ।

Comment