फिलिपिन्समाथि नेपालको शानदार जीत

 कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा  पुगेको छ ।
छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अङ्क जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइनलमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनलमा जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो । जसमा समूह चरणको तीन खेलमध्ये दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको थियो । ओमानको मस्कटस्थित नेपालले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो ।
फिलिपिन्सका ओपनर ड्यानियल स्मिथले सर्वाधिक २० रन बनाए । यस्तै, जोर्डन अलेग्राले १८ कप्तान जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्यको उल्लेख्य प्रदर्शन रहेन । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले चार ओभर मात्र नौ रन खर्चिए । यसबाहेक गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
यसअघि कुशल भुर्तेलको शानदार अविजित शतक प्रेरित नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको थियो । ओमानको मक्सटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गरेको थियो ।
दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए । यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठुलो योगफलतर्फ डोर्‍याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठुलो हो ।
यसअघि नेपालका पूर्व कप्तान पारस खड्का र आरिफ शेखले सन् २०१९ को सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध १४५ रनको साझेदारी गरेका थिए । कीर्तिमानी साझेदारी गर्दै कुशल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । यसअघि पारस र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए ।
फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रनको अविजित इनिङ खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे ।
Comment