कीर्तिपुर माथि ललितपुरको जित 

विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधवार क्वाटर फाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटर फाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शङ्करदेव क्याम्पसलाई ११३–५६ ले हरायो । आर्मीका सौरभ श्रेष्ठ र शङ्करदेवका राजेश ठकुरीले समान १८ अङ्क जोडे । आर्मीको जीतसँगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटर फाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले सङ्करदेवलाई हराएको थियो । आर्मी र सङ्करदेवबिचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।
सुरुआतमा २७–१० को अग्रता लिएको आर्मी दोस्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेस्रो र चौथोमा समान ३०–२० अङ्क जोड्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआईके भिजनलाई ७८–५९ ले हरायो । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अङ्क बटुले ।
पहिलो क्वाटरमा २५–१३ ले अघि बढेको कीर्तिपुर दोस्रोमा ९–२० ले पछि रहँदा खेल ३३–३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेस्रोमा १९ र चौथोमा २५ अङ्क जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर  गरे ।
नेपाल बास्केटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३–२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना बज्राचार्यले १८ स्कोर गरे ।
ललितपुर चारै क्वाटरमा हाबी रह्यो । कीर्तिपुरले कुनै पनि क्वाटरमा दोहोरो अङ्कको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अङ्क जोड्दै सहज जित निकाल्यो ।
Comment