प्रहरीको सानदार सुरुआत

नेपाल प्रहरी क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मङ्गलवार सफल सुरुआत गरेको छ ।
प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ को फराकिलो अन्तरले हरायो । प्रहरीकी समीक्षा न्यौपानेले ११ अङ्कको योगदान गरिन् । कीर्तिपुरकी झरना बज्राचार्यले १३ स्कोर गरिन् ।
प्रहरीले ३२ अङ्क जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अङ्क जोड्यो ।
नेपाल बास्केटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो । टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे ।
दोस्रो क्वाटरमा १३–२० ले पछि परेको टाइम्स बाँकी प्रत्येक क्वाटरमा भने दोब्बर भन्दा बढी अङ्कले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो । टाइम्सले पहिलोमा ३५–१६, तेस्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लियो ।
प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित रच्यो । गोल्डेनगेटका अभिषेक सिंहले ३२ अङ्क बटुले । एनसीसीएसका सौगात सिंहले १८ अङ्क जोडे ।
अन्तिम क्वाटरमा लिएको २६–१७ को अग्रता नै गोल्डेनगेटको जितको आधार बन्यो । पहिलोमा १८–२१ र दोस्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेस्रोमा २०–२० को बराबरीमा रोकिएको थियो ।
Comment