दोस्रो खेलमा युएईसँग नेपालको हार

नेपालले चार देशीय ट्वान्टी–२० शृङ्खलामा युएईविरुद्धको खेलमा २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमा सीमित भयो ।
नेपालबाट ज्ञानेन्द्र मल्लले १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे ।
आरिफ शेख ११ रनमा आउट भएका थिए । पारीको अन्तिम बलमा आउट भएका लोकेश बमले बलमा २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहे । युएईका कासिफ दौडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।
नेपालले अघिल्लो खेलमा शुक्रवार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले सोमबार आयरल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ ।
यसअघि पावर प्लेको ६ ओभरमा युएईले १ विकेट गुमाइ ६० रन जोडेर आक्रामक सुरुआत गरेको युएईले चिराग सुरी र रोहन मुस्ताफाको सानदारमा १९२–३ को मजबुत स्कोर बनाएको थियो ।
सुरी ८४ रन बनाएर अविजित रहे । उनले ५३ बल खेली ५ चौका र ५ छक्का प्रहार गरे । उनीसँगै अविजित रहेका मोहम्मद बुटाले ८ बलमा १४ रन बनाए । मुस्ताफाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए ।
ओमानको राजधानी मस्कटमा ओपनर मोहम्मद वासिमले तेस्रो ओभरको पहिलो दुई बलमा साहब आलमको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा साहबले बासिमलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । वासिमले १३ बलमा २२ रन बनाए । कप्तान सन्दीप लामिछानेले बसिल अहमदलाई १७ रनमा बोल्ड गरे ।
नेपालले ओमानसँगको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा लोकेश बम, जितेन्द्र मुखिया र शाहवलाई खेलाइएको छ । नेपालले लगातार दोस्रो खेलमा पनि प्रमुख खेलाडी द्वय कुशल भुर्तेल र करण केसीलाई खेलाएको छैन ।
साता सुरु हुने ट्वान्टी–२० विश्वकपको छनोटको तयारीको रूपमा नेपालले यो प्रतियोगिता खेलेको हो । विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ ।
Comment