लामा टेन्डी स्मृति बास्केटबल हुने


नेपाल बास्केटबल सङ्घको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ १४ टिम तथा महिलामा ५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । पुरुषमा १ विदेशी टिम बङ्गलादेशको नेभी टिम पनि सहभागी हुने प्रबल सम्भावना रहेको प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए । नेभी टिम २०२१ को क्लब च्याम्पियन टिम भएको आयोजकले जनाएको छ ।
पुरुषतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलातर्फ राउन्ड रोविन लिग पद्धतिमा खेल हुने छ । शीर्ष २ स्थानमा रहनेले उपाधिका लागि पुनः खेल्ने छन् ।
पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताले निरन्तरता पाउने आयोजक सङ्घका महासचिव नरेन्द्र थापाले बताए ।
स्व. लामा बास्केटबल सङ्घका अध्यक्ष थिए । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए ।
फागुन १२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

Comment