सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशाल सिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशाल सिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भङ्ग गरेका हुन् । सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ड जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउँदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वल कुमार मिश्राले कांस्य जिते ।
सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्का दोस्रो तथा एपीएफका रणबहादुर नगरकोटी तेस्रो भए ।
नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए । उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे । नेपाली सेनाका दिनेश कार्की दोस्रो तथा एपीएफका सन्तोष चौधरी तेस्रो भए ।
जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्यले स्वर्ण जिते । उनले स्न्याचमा ७३ केजी र क्लिन एन्ड जर्कमा १ सय ५ केजी गरी जम्मा १ सय ७८ केजी वजन उठाए । चितवनका समीर थापा क्षेत्रीले रजत तथा पर्साका शिवनारायण यादवले कांस्य हात पारे । यूथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवले स्न्याच र क्लिन एन्ड जर्कमा समान ९०–९० केजी गरी कुल १ सय ८० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे ।
मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा भएको प्रतियोगिताको यूथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ पहिलो भइन् । सिन्जलले स्न्याचमा ३३ केजी र क्लिन एन्ड जर्कमा ४२ केजी गरी कुल ७५ केजी वजन उठाइन् ।
सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउँदै पहिलो भइन् । ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन् । ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोस्रो भइन् । ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन् ।
जुनियर पुरुषको १ सय २ केजीमा आर्मीका नीरज सिग्देल पहिलो भए । उनले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी जम्मा १ सय ३० केजी भार वहन गरे ।
सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले । १०२ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोस्रो तथा सिराहाका प्रतापकुमार चौधरी तेस्रो बने ।
विजेतालाई सङ्घीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, , आयोजक नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीन दिने प्रतियोगिताअन्तर्गत पुरुष÷महिलातर्फ सिनियर÷जुनियर÷यूथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुषको २४ औँ तथा महिलाको ९ औँ संस्करण हो ।
Comment