सञ्जु र जुनुमायाको नयाँ किर्तिमान


बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औँ पुरुष तथा ९ औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।
१३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एन्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोस्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गरेकी थिइन् । पुनः तेस्रो प्रयासमा ७८ केजीका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् । यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोस्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भइन् । तर तेस्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
५९ केजी तौलको दोस्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रशंसा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरी कुल १०५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।
यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाइन् । उनले स्नाचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यस अघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको कीर्तिमान तेस्रो सुनिल लाल स्मृति भारोत्तोलन प्रतियोगितामा राखेकी थिइन् । दोस्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरी कुल १२७ केजी भार बहन गरिन् । यस्तै तेस्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अञ्जलि श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् ।
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको यूथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एन्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् ।
महिला ५५ केजी तौलको यूथमा सप्तरीकी पूजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरी कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । दोस्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरी कुल ७३ केजी भार बहन गरिन् । यस्तै तेस्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोषी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।
जुनियर तर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरी कुल ९९ केजी भार बहन गरिन् । दोस्रो स्थानमा दाङकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरी कुल ७८ केजी भार बहन गरिन् ।

महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरूले वर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङले रजत र अस्मिता पुलामीले कांस्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरी कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरी कुलमा ९५ केजीका साथ नै प्राविधिक आधारमा तृतीय स्थानमा आइन् । प्राविधिक सञ्जय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्राथमिकता प्राप्त हुने  नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोस्रो स्थान प्राप्त गरेकी हुन् ।
महिलाको ६४ केजी तौल समूहको यूथ तर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरी कुलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुसी थापाले यूथ र जुनियर दुवै तर्फ रजत प्राप्त गरिन् । खुसीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरी कुल ८९ केजी भार उचालिन् ।
जुनियर तर्फ बर्दियाकी ललिता हेम रानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरी कुल ९५ केजीका भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी सृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरी कुल ८५ केजी तौल उचालिन् ।
यस स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरी कुल १४७ केजी तौल उचालिन् । दोस्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पूजा कुमाल तेस्रो भइन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।
पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरी कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे ।  उनले स्नाचमा ८२ क्लिनमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे । तेस्रो स्थानमा कास्कीका धनबहादुर झाँक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरी कुल १८३ केजी भार बहन गरे ।
७३ केजी तौलको जुनियर र यूथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । पालले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरी कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् । यूथले जुनियर र सिनियर तर्फ पनि प्रतिस्पर्धा गर्न पाइने सङ्घका सदस्य एवं प्राविधिक सञ्जय महर्जनले जानकारी गराए । जुनियर तर्फ सशस्त्र प्रहरीका लाहाङ्ग थाम्सुहाङ्गले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी गरी कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे । यस्तै कञ्चनपुरका अभिषेक विष्टले स्नाचमा ६२, क्लिनमा ७६ गरी कुलमा १३८ केजीका साथ कांस्य पदक पाए ।
यूथ तर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिनमा ६० गरी कुल ११० केजीका साथ रजत प्राप्त गरे ।

Comment